Breaking

आज २८औं विश्व आदिवासी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै


काठमाडौँ – आज २८औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकणको लागि जनजाति आन्दोलन जाति, भाषा,धर्म र संस्कृति सरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडौँसहित देशैभर विभिन्न कार्यक्रम गरी ‘२८औं विश्व आदिवासी दिवस’ मनाउन लागिएको हो । काठमाडौँमा बिहान ११ बजे भृकुटीमन्डपबाट र्‍याली निकालिँदैछ ।

दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम आयोजना गरेको छ । महासंघका अनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । यसका साथै दिवसको अवसर पारेर महासंघका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिजन्य ७ वटा संस्थाहरुको अगुवाइमा विभिन्न कार्यक्रम हुने भएको छ ।

विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो ।

आदिवासीको साँस्कृतिक झाँकी, बाजागाजा र परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शनसहित देशैभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा मनाइने शेर्पाले बताउनु भयो ।

‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले मनाउने उत्सवहरुमार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं,’ ।

दिवसकै सन्दर्भमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघले साउन २० गते नेपाल पर्यटन बोर्डमा ‘चलचित्र प्रदर्शनी तथा विशेष सांस्कृतिक कार्यक्रम’ गरेको छ भने राष्ट्रिय आदिवासी जनजति महिला महासंघले साउन २१ गते काठमाडौँमै ‘आदिवासी जनजाति ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

दिवसको अवसर पारेर नेपाल मगर संघले काठमाडौँमा साउन २१ गते ‘मगरात सभ्यतामा पहिचानको आधारहरु विषयक’ विचारगोष्टी गरेको छ भने किरात राई यायोख्याले साउन २२ गते ‘३५औं स्थापना दिवस तथा प्रदेश नं। १ किरात प्रदेश’ विषयमा बहस गरेको छ ।

२८औं विश्व आदिवासी दिवस र आफ्नो २३औं स्थापना दिवसलाई सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले काठमाडौँमा साउन २३ गते ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।

विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् ।