Breaking

गगन–रवीको प्रधानमन्त्री हुने चाहना, देउवा, प्रचण्ड र ओलीबीच फेरि टकराव, काँग्रेसमा दर्जन आकांक्षी


काठमाडौँ — सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु चुनाव केन्द्रीत बनेका छन् । नेताहरु निर्वाचन क्षेत्रमा पुगेर फेरि पनि मत र मन जित्ने तयारीमा छन् । त्यसबाहेक रोचक कुरा त केछ भने, अहिलेदेखि नै एकपछि अर्काे नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । पार्टीको १४ औं महाधिवेशनमा नमज्जाको राजनीतिक स्वाद भेट्टाएपछि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको राजनीति कर्नरमा बेवारिसे छ । पहिले देउवाविरुद्ध गुटबन्दी चलाएर पछि देउवाकै समर्थनवादी बनेका उनी पार्टीभित्र पनि निर्णायक तहमा छैनन् र नेताहरुको चासोमा पनि पर्दैनन् । उनै सिंहले शनिबार प्रधानमन्त्रीको दाबी सार्वजनिक गरेका छन् । एकपटक ‘नम्बरवान मेन’ भएर काम गर्न पाए देशको कायापलट गरेर देखाइदिने दाबी गरेका छन् ।

प्रधानमन्त्री हुनका लागि पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जितेर आउनुपर्छ । त्यसपछि पार्टीभित्रकै प्रतिस्पर्धामा दलको नेता चयन हुनुपर्छ । बल्ल संसदको बहुमत सदस्यले पत्याएको खण्डमा देशको नेतृत्व गर्ने हो । तर दलीय व्यवस्थामा प्रत्यक्ष निर्वाचित प्रणाली जस्तो प्रधानमन्त्रीकै एजेन्डा बोकेर उनीहरु चुनाव केन्द्रीत बनिरहेका छन् । यसरी प्रधानमन्त्रीको रहर सार्वजनिक गर्ने सिंह एक्ला पात्र होइनन्, काँग्रेसभित्रैबाट दर्जनबाढी नयाँ पुराना अनुहार सार्वजनिक भइरहेका छन् ।महामन्त्री गगनकुमार थापाले राजनीतिक जीवनमा पहिलोपटक प्रधानमन्त्रीको एजेन्डा बोकेर चुनावमा जाने तयारी गरेका छन् । जुन सबैका लागि भारी पर्ने आँकलन छ ।

यो दौडमा १७ पटक प्रधानमन्त्रीको चुनाव हारेको छबि बनाएका नेतारामचन्द्र पौडेलसमेत अघि सरेका छन् ।ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्छस् भनेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावपछि छैटौं कार्यकाल पु¥याउने तयारीमा छन् । हालसम्म काँग्रेसमा सबैभन्दा बलियो उम्मेदवारका रुपमा देउवाभन्दा अरुलाई हेरिएको छैन ।यो दौडमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । देउवाले आफु नभए आरजुलाई अघि सार्ने चर्चा चलिरहेका बेला भारतसँगको बढ्दो उठबसले झनै सकस थपेको छ । पार्टी महाधिवेशनमा उसैगरि कमजोर बनेकाविमलेन्द्र निधिसमेत यतिबेला दिल्लीमा छन् । जसको अभिलाषासमेत प्रधानमन्त्रीमाथि नै केन्द्रीत रहेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

काँग्रेस बाहिरसमेत सत्ताको नेतृत्वका लागि मरिहत्ते चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएसम्म पुरा कार्यकाल नभए आधाआधा सहमतिका लागि देउवालाई दबाब दिइरहेका छन् । गठबन्धनमै आवद्ध माधवकुमार नेपाल र बाबुराम भट्टराई पार्टीको हैसियतले मुख खोल्न नदिए पनि प्रधानमन्त्रीकै अभिलाषा पालिरहेका छन् । त्यसबाहेक भूरा राजनीतिक दल र भर्खरै राजनीतिमा आएका रबी लामिछानेसम्मको सपना प्रधानमन्त्रीका लागि छ । एमाले अध्यक्ष ओली निर्वाचनपछि आफ्नै सरकार बन्नेमा ढुक्क प्राय देखिन्छन् । पटकपटक परिक्षित भएर असफल भएका नेतृत्व नै आगामी निर्वाचनका बलिया दाबेदार छन् । ठूला पार्टीभित्रका दोस्रा नेताहरुले आवश्यक दबाब दिन सकिरहेका छैनन् ।कोही टक्कर दिएर आउन सके जनताले परिवर्तन खोजेको स्पष्टै छ । फलतः फेरि देउवा, प्रचण्ड वा ओली नै प्रधानमन्त्री हुन् कि कोही अपवाद बनेर आउन सक्ला ? नेपालीहरुको चासोमा छ ।