राजनीति

ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको छ : पद्मा अर्याल


काठमाडौँ — नेकपा एमालेकी सचिव पद्मा अर्यालले विगतको भन्दा धेरै ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको आरोप लगाएकी छन् । आगामी चुनावलाई लक्षित गरी गठबन्धन पार्टीका जिल्ला सभापतिले गरेको सिफारिसको आधारमा गृहमन्त्रीको अगाडि कसम खुवाएर प्रमुख जिल्ला अधिकारीहरुलाई खटनपटन गराउन काममा सरकार लागेको आरोप उनले लगाइन् ।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा अर्यालले भनिन्, गठबन्धनका जिल्ला सभापति, खासगरी नेपाली कांग्रेसका जिल्ला सभापतिले सिफारिस गरेर, गृहमन्त्रीको अगाडि उभ्याएर, कसम खुवाएर सीडीओ खटाउने तयारी छ । यस्तो हिसाबले चुनाव गराइँदै छ । चुनाव कस्तो होला हामीले अनुमान गरेकै छौं । जस्तो भए पनि एमालेले चुनावको सामना गर्ने र मुलुकको पहिलो शक्ति बन्ने दाबी उनले गरिन् ।