Breaking

यी क्षेत्र बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह


काठमाडौँ — देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भइरहेको छ । गएराति पनि केही स्थानमा भारी वर्षा मापन गरिएको छ ।

कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ ।

बर्दियाको बबई नदी जलाधारको कालीमाटी, चेपाङ, र आसपासमा पनि गएराति भारी वर्षा मापन गरिएको छ ।
बबई चेपाङ जलमापन केन्द्रमा जलसतह दुई मिटर बढेको छ । बबईको तटीय क्षेत्र र डुवान भइरहने स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिमका केही स्थानमा गएराति भारी वर्षा मापन भएको छ । थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावा रहेको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।