Breaking

राजधानीको फोहोर व्यवस्थापनमा तीन तहकै सरकार अन्योलमा, समन्वयका लागि महानगरपालिका लाचार


काठमाडौँ — डेढ महिनादेखि दुर्गन्धीत बनेर बसेको काठमाडौँ महानगरको फोहोर शनिबार दिउँसोबाट उठाउन सुरु गरिएको छ । तर, अहिले उठाउन सुरु गरिएको फोहोर कहिलेसम्म निरन्तर रहने हो त्यो भने अझै अनिश्चित छ । किनकी सिस्डोल क्षेत्रका नागरिकहरुले भदौ पहिलो हप्ताबाट फोहोर ल्याउन नदिने बतइरहेका छन् ।

काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीय, प्रदेश र केन्द्र तीन वटै सरकार लाचार जस्तै बनेका छन् । फोहोरलाई नै लिएर सडकदेखि सदनसम्म आवाज उठ्दा पनि महानगरको फोहोर व्यवस्थापन नियमित हुन सकिरहेको छैन । हुन त महानगरपालिकाको फोहोर उठाउने जिम्मा आधिकारिक रुपमा कुनै कम्पनीलाई छैन ।

तर, जसो तसो फोहोर उठाइरहेको समूहलाई नै थाहा हुँदैन कि महानगरको फोहोर कहिले संकलन हुन्छ, कहिले हुँदैन भनेर । त्यस्तै भयो शनिबार । शनिबार बिहानसम्म फोहोर उठाउने समूहलाई महानगरको फोहोर उठाउने भन्ने कुनै जानकारी नै थिएन । तर दिउँसो एक्कासी फोहोर लैजाने भन्ने सूचना आए पछि भने हतार हतार फोहोर उठाउन सुरु गर्यो । तर, अहिले उठेको फोहोर कहिलेसम्म उठ्ने हो उनीहरु पनि अन्योलमा छन् ।

साउन १ देखि नै कुहिने र नकुहिने फोहोर घरैमा वर्गीकरण गर्ने भनेर महानगरले सूचना निकाले पनि साउन महिना सकिँन लाग्दा समेत त्यो लागू हुन सकेको छैन । ४ गतेसम्म वर्गीकरण गरेको फोहोर, सडक अवरोधका कारण एक साताबन्द भए हुँदा यसले निरन्तरता पाउन सकेन ।

राजधानीवासीले महानगरको सूचना बमोजिम घरैमा फोहोर छुट्याएका छन् । तर, नियमित रुपमा फोहोर उठ्न नसक्दा प्रभावकारी हुन सकेको छैन । अझै पनि नियमित रुपमा फोहोर उठ्नेमा नै शंका छ । किन भने बञ्चरे डाँडाका प्रभावितहरुले भदौ १ देखि महानगरको फोहोर ल्याण्डफिल साइटमा विसर्जन गर्न नदिने बताउँदै आएका छन् । महानगरपालिकालाई सबैले सहयोग गरिरहेको अवस्थामा महानगरले लिएको निर्णय व्यवहारमा उतारेको महानगरवासी हेर्न चाहन्छन् । स्वतन्त्र मार्गबाट जितेको निर्वाचित मेयरबाट केही आश गरेका उनीहरुमा निराशा छाउन थालिसकेको छ ।

त्यसो त राजनीतिलाई फोहोरी खेल भन्ने गरिन्छ । राजनीतिमा हुने खेल महानगरको फोहोरको डंगुरभन्दा कम छैन । यी फोहोरले एकअर्कालाई प्रतिकात्मक रुपमा गिज्याइरहेको टिप्पणी पनि हुन थालेको छ । सडक, चोक र गल्लीको फोहोर सभ्य समाजका साथै सरकारका लागि पनि लाज हो । नागरिकबाट हरसम्भव सहयोग भइरहेको बेला सरकारले पनि आफ्नो कर्तव्य पुरा गर्नै पर्छ । स्वच्छ, सफा काठमाडौँ निर्माण गर्छु भनेर नेतृत्वमा आईसके पछि जस्तो सुकै परिस्थितिमा पनि त्यसलाई व्यवहारमा उतर्न जरुरी छ ।