समाचार

अष्ट्रेलियाबाट फर्किए प्रधानसेनापति शर्मा


काठमाडौँ — अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स-२०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् ।

शर्मा शुक्रबार बेलुकी काठमाडौँ आइपुगेका हुन् । शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरे ।

अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजित (सीएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

साउन ९ देखि ११ गतेसम्म चलेको कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।