काठमाडौँ — चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ । पेलोसीले ताइवान भ्रमण गरेर आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले पेलोसी र उहाँको परिवारमाथि प्रतिबन्ध घोषणा गरेको हो । केही दिनअघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएको छ र ताइवान नजिकको क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।
चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भन्नुभएको छ, ‘पेलोसीले चीनको आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्याएकी छिन् । चीनको एक चीन नीतिलाई कुल्चिने प्रयास गरेकी छिन् र ताइवानको क्षेत्रमा शान्ति र स्थिरतामा नोक्सान पुगेको छ ।’
चीन ताइवानलाई आफ्नो क्षेत्र मान्छ र ताइपेईलाई बेइजिङमा मिलाउन चाहन्छ । यसैबीच न्यान्सी पेलोसी शुक्रवार आफ्नो एसियाली देश भ्रमण अन्तर्गत जापान पुग्नुभएको छ । त्यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो ताइवान भ्रमण यथास्थितिलाई परिवर्तन गर्नु नभएको बताउनुभएको छ । अमेरिकाले कहिल्यै पनि ताइवानलाई अलग हुने नदिने उहाँको भनाइ थियो । एजेन्सी


प्रतिक्रिया