Breaking

आवश्यक परे त्यसको जवाफ दिन तयार छौं: ताइवान


काठमाडौँ — चीनले पछिल्लो समय गरिरहेको क्रियाकलापलाई नजिकबाट नियालिरहेको भन्दै ताइवानकी राष्ट्रपति इङ्ग-वेनले जरुरी परे चीनको हर्कतको जवाफ दिन आफूहरू तयार रहेको बताएकी छन् । केही दिनअघिदेखि चीनले ताइवानको सिमाना नजिकै गरेको सैन्य अभ्यासको विषयमा बोल्ने क्रममा उनले ताइवानले संघर्षलाई बढावा दिन नचाहेको र आफ्नो सम्प्रभुता तथा राष्ट्रको सुरक्षाका लागि सधैं प्रतिबद्ध रहेको बताउँदै आवश्यक परे त्यसको जवाफका लागि समेत ताइवान तयार रहेको बताएकी हुन् ।

बिहीबार चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेपछि उक्त विषयमा बोल्दै राष्ट्रपतिले इङ्ग(वेनले भनिन्‚ ‘ताइवान संघर्षलाई बढावा दिन चाहँदैन तर आफ्नो सम्प्रभुता र राष्ट्रको सुरक्षा गर्न सधैं तत्पर छ ।’ अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन(ताइवानको सिमाना नजिकै चीनले सैन्य अभ्यास गरिरहेको छ ।

ताइवान सन् १९४९ देखि स्वशासित रहँदै आएको भए पनि चीनले यो आफ्नो भूमी भएकाले ताइवानसँगको सम्बन्धलाई आन्तरिक मामिलाको रुपमा लिँदै आएको छ । चीनले आफ्नो सबैभन्दा ठूला सैन्य अभ्यास गर्दा शक्तिशाली क्षेप्यास्त्रहरू ताइवानको सीमा नजिकै रहेको समुद्रमा प्रहार गर्ने गरेको छ । यीमध्ये ४ वटा क्षेप्यास्त्रहरू ताइवानको राजधानी ताइपे हुँदै समुद्रमा प्रहार गरिएको बीबीसीले उल्लेख गरेको छ ।