देश

अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु: माधव नेपाल


काठमाडौँ — पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे ।

उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए । उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए ।

उनले भने, ‘मलाई कतिपय पत्रकार साथीहरुले एकदिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एकदिन निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन ।’

उनले थपे, ‘यस पटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पु¥याउनै पर्छ । चुनावको मितिको घोषणा भइपनि सकेको छ । अबपनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन । डराएछ कि के हो माधव नेपाल भन्नेपर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ ।’ अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गरे । उनले शुक्रबार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने कुराको घोषणा हुने बताए ।