काठमाडौँ — सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै करिब ५ लाख युवा यसपटकको चुनावमा मत हाल्नबाट वञ्चित हुने भएका छन्। गृहमन्त्रालयको रेकर्डअनुसार अघिल्लो वर्षको फागुनसम्म ६ लाख ८० हजार ५३३ युवाले नागरिकता लिन बाँकी छ ब। यीमध्ये करिब ५ लाख १८ वर्ष माथिका छन्।नागरिकता बनाउनै बाँकी रहेका उनीहरुले अब मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भोट खसाल्न पाउने छैनन्।
चुनावको मिति घोषणा भएकै दिनदेखि मतदाता नामावलीमा नाम दर्ता रोकिन्छ। सरकारले विहीबार १९ साउनमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने मिति घोषणा गरेको छ। चुनावको मिति घोषणासँगै ठूलो संख्यामा युवाहरु मत खसाल्नबाट रोकिने भएका हुन्। संसदको दुवै सदनबाट पारित भइ सभामुखले १५ साउनमा प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवासमा पठाएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन।
नागरिकता विधेयक ऐन बनेर कार्यान्वयनमा नजाँदै सरकारले बिहीबार चुनावको मिति घोषणा गरेको छ। चुनावको मिति घोषणा गरिएकै दिनदेखि मतदाता नामावली संकलन कार्य बन्द गर्नुपर्ने कानूनी प्रावधान छ। मत हाल्नका लागि मतदाता नामावलीमा नाम हुनुपर्छ, त्यसका लागि नागरिकता चाहिन्छ। तर, १६ वर्ष उमेर पुगेका ६ लाख ८० हजार ५३३ जनासँग नेपाली नागरिकता छैन। नागरिकता नभएपछि उनीहरुको नाम मतदाता नामावलीमा पर्ने कुरै भएन। नेपालको संविधान २०७२ ले मतदानको अधिकारलाई मौलिक हकमा राख्दै मतदाता नामावलीमा नाम हुन नेपाली नागरिकता हुनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ।


प्रतिक्रिया