समाचार

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, दुई घाइते


काठमाडौँ — डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका ५ माझफालमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ का २५ वर्षीय शेरबहादुर केसी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ट्याक्टरमै सवार दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्याक्टर हिजो साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो ।