काठमाडौँ — सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् ।
चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन् । चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन् ।
१९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो । अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन् ।
पेलोसीले बुधबार ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ । पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ ।


प्रतिक्रिया