Breaking

ललितपुरका मेयर चिरीबाबु महर्जन र आईजीपीबीच भनाभन


ललितपुर — ललितपुर महानगरपालिकाले वान वे एकतर्फी प्रहरीले हटाएको विषयलाई लिएर मेयर चिरीबाबु महर्जन र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच फोनमा भनाभन परेको छ । प्रहरीले छापामार शैलीमा नख्खु–एकान्तकुनाको वान वे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले ‘वान वे’ क्षेत्रमा पुगेर दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका छन् ।

‘वान वे गरेपछि ट्राफिक व्यवस्थापन उपलब्धिमूलक भइरहेको थियो, आईजीपीको ठाडो निर्देशनमा महानगरले राखेको बोर्ड हटाएर दुईतर्फी गरिएछ,’ महानगरका मेयर महर्जनले भने, ‘आईजीपी सिंह र मेरो फोनमा भनाभन भयो ।’ स्थानीय सरकारले गरेको निर्णयमा प्रहरीले हस्तक्षेप गरेको मेयर महर्जनको आरोप छ । मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनामा महानगरले बनाएको वान वे हटाएको थियो । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको ‘वान वे’ हटाएको महर्जन बताउँछन् ।

उक्त क्षेत्रमा ‘वान वे’ सुरू गरेदेखि दुर्घटना र सवारीजाम शून्य भएको मेयर महर्जनको दाबी छ । ‘हामीले यो क्षेत्रमा वान वे बनाएपछि सवारी जाम र सडक दुर्घटना शून्य भएको छ । महानगरले राम्रो काम गरेको भनेर स्थानीय खुसी भएका छन्,’ उनले भने, ‘यसरी एकाएक छापामार शैलीमा प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गर्न मिल्दैन ।’

‘वान वे’ लागू गर्नुअघि महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर, ट्राफिक प्रहरी कार्यालय सातदोबाटो, प्रहरी प्रभाग सानेपा, ट्राफिक प्रहरी वृत्त जावलाखेल, ललितपुर महानगरपालिका वडा नम्बर ४ र नगर प्रहरी बल ललितपुरलाई पत्राचार गरेको समेत जनाएको छ । बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरले साउन १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई ‘वान वे’ गरेको थियो ।

ट्राफिक विज्ञ, स्थानीयवासी तथा वडा र सरोकारवालाको सुझावअनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने २५२ मिटर क्षेत्र एकतर्फी गरिएको मेयर महर्जनले जानकारी दिएका छन् ।