Breaking

पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान पुगेन: सांसद सुवाल


काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भए पनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए । उनले नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइरहेका बेलासमेत सरकारले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सोच्न नसकेको बताए ।

सांसद सुवालले सरकारले भारतलाई बेचेको ३६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बताए पनि बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिन आवश्यक रहेको बताए । उनले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट भएको बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो तर नेपाली बजारमा घटेको छैन । घट्न जरुरी छ । नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१अर्ब पुगेको बताइएको छ । यति नोक्सानी भइरहँदा नेपाल सरकारले विकल्प सोचेको छैन । सरकारले भारतलाई बेचेको ३६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बतायो ।

बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा खाना पकाउन उपलब्ध गराएको भए खाना पकाउने ग्यास भारतबाट आयातमा भइरहेको नोक्सानी परिपूर्ति हुने होइन र सरकारसँग सद्‍बुद्धि कहिले आउने हो सभामुख महोदय । भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने भन्ने योजना सुनियो । यो सत्य भए भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट हुन्छ,’ उनले भने ।