समाचार

नेपाल बौद्ध महासंघको अध्यक्षमा भण्डारी निर्वाचित


काठमाडौँ – नेपाल बौद्ध महासंघले खेन्पो कमल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सोमबार साँझ सम्पन्न बौद्धधर्मालम्वीहरुको एक मात्र संस्था महासंघको छैटौँ महाधिवेशनले उपाध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे जिन्पा), महासचिव टिम्बर सिङगी लामा (खेन्पो कर्मा लेग्जीन) सचिव पेमा दोन्देन गुरुङ, कोषाध्यक्ष पेमा दोर्जे तामाङ निर्वाचित गरेको छ ।

त्यसै गरी समितिको सदस्यमा जिग्मे लोसाल लामा, पासाङ डोमा शेर्पा, राजु गुरुङ, टसी साङमो गुरुङ, छोक्यी शेर्पा, आचार्य किशोर तामाङ, मिङमार मगर र साङ दोर्जे लामा रहनु भएको छ ।

निर्वाचित नयाँ कार्यसमितिहरूलाई बौद्ध परम्परा अनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका पूर्व अध्यक्ष खेन्पो ङवाङ होशेर लामा शेर्पाले शपथ ग्रहण गराउनु भएको छ । महाधिवेशनको उद्घाटन गृह मन्त्री बालकृष्ण खाणले गर्नुभएको थियो ।

गृहमन्त्री खाणले बौद्ध शिक्षाले दिगो शान्ति स्थापनामा गर्नमा ठुलो भूमिका खेल्ने भएकोले जनसमुदायसम्म बुद्धको शिक्षालाई पुर्याउनु पर्ने र लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन, कला, साहित्य, इतिहासलाई थप व्यापक रूपमा अध्ययन, अध्यापन र अनुसन्धान केन्द्रको रूपमा विकास गर्दै लैजानु पर्ने बताउनुभयो ।

विशेषगरी ञिङमा, काग्यु, शाक्य र गेलुक चार महायान बौद्ध परम्पराका धर्म गुरु तथा अनुयायी सो महासंघमा आवद्ध हुनुहुन्छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन तथा मुलुकका विभिन्न ठाउँमा सामाजिक गतिविधि सञ्चालन महासंघले गर्दै आएको छ ।

मुलुकमा महायान सम्प्रदायअन्तर्गत भएका विभिन्न गुम्बा तथा सम्पदाको उचित संरक्षण एवम् संवद्र्धनका लागि महासंघले सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग सहकार्य तथा समन्वय गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले बौद्ध धर्मावलम्बीका हकहित तथा अधिकारका लागि सक्रिय रही धर्मको माध्यमबाट समाजमा शान्ति स्थापना र राष्ट्र निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महाधिवेशनमा भोट भाषाको संरक्षण, संवर्द्धन, विकास, बौद्ध गोन्पा शिक्षाको नीति निर्माण तथा पाठ्यक्रम पाठ्यपुस्तक लेखन र नेपाल बौद्ध महासंघलाई विभिन्न क्षेत्रमा सहयोग गर्नु हुनेहरूलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।