Breaking

नारायणीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह


काठमाडौँ — नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे ।

आइतबार रातिदेखि निरन्तर रूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो । सो नदीमा अहिले बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।