Breaking

अर्थमन्त्री शर्मा पुनः घेराबन्दीमा, अर्थसचिवको टक्कर, छानबिनले चोख्याएपनि जनताले दोषी देखे


काठमाडौँँ — चौतर्फी दबाबमा परेर राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा छानबिन समितिको अपरिपक्कताका कारण पुनर्वहाली भएका छन् ।तर शर्मा मन्त्रालयमा फर्किए पनि धेरैले यसलाई सहज लिएका छैनन् । बरु सुरुकै दिनदेखि उनीविरुद्ध घेराबन्दी सुरु भएको छ । बजेटमा अनधिकृत व्यक्तिलाई घुसाएर करका दर हेरफेर गरेकोदेखि सीसीटीभी फुटेजडिलिट गरेकोसम्मका गम्भीर अभियोगमा राजीनामा दिएका जनार्दन शर्मालाई बात लाग्यो तर सत्ताको माथले पुनर्बहाली गरिदियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चाहना बमोजिम उनी पुनः पदमा फर्किएका छन् ।

अर्थमा अनर्थ भएपछि शर्माले असार २२ मा राजीनामा दिएर छानबिनको बाटो खुल्ला गरिदिएका थिए । छानबिनका लागि बनेको विशेष संसदीय समितिले असार २८ देखि अनुसन्धान थालेपनि १० दिनको समयले नपुगेपछि पुनः सात दिन म्याद थपगरियो ।तर संसद जस्तो राजनीतिक थलोबाटै राजनीतिक पार्टीकाप्रतिनिधि राखेर बनाइएको आलोकाँचो समितिले छानबिनभन्दा बढी ढाकछोप गरेपछि विश्वसनीय प्रतिवेदन आउन सकेन । किनकि यस्ता खालका छानबिनमा विज्ञसहितको विश्वनीय समिति बनाउनुपर्ने भएपनिराजनीतिक भागबण्डाका आधारमा बनाइएपछि सुरुदेखि नै यसका प्रति आशंका थियो । अहिले सत्तापक्ष र प्रतिपक्षले शर्मालाई चोख्याउने गरि प्रतिवेदन दिएपछि अर्थमन्त्री शर्मा मात्रै होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री देउवा र पाँच दलीय गठबन्धननै जीतको हुंकार लगाइरहेको छ ।

छानबिनमा खरो उत्रिनुपर्ने प्रतिपक्ष एमाले पनि लाचार जस्तो देखियो । एमालेलाई विवादमा तानेको एम अधिकारी प्रकरणलाई ढाकछोप गर्न अर्थमन्त्री प्रकरणमा नरम बनेको विषयमा समेत विश्लेषण भइरहेका छन् । तर सबै दाहिना भएर बचेका अर्थमन्त्री शर्मालाई पहिलो गाँसमै ढुंगा भनेजस्तै मन्त्रालयबाटै घेराबन्दी सुरु भएको छ ।असार २२ माशर्माले राजीनामा दिनुअघि अर्थसचिव मधु मरासीनी विदामा बसेका थिए । शर्मा मन्त्रालयमा रहेसम्म नफर्किने सन्देश प्रधानमन्त्री देउवालाई दिएरै विदा बसेका मरासिनी आइतबार शर्मा पुनबर्हाली हुने खबर पाए लगत्तै पुनः विदा बसेका छन् ।उनलाई राजस्व सचिवले मात्रै स्वागत गरेका थिए ।तर अर्थसचिव र मन्त्रीको द्धन्द्धले अब मन्त्रालयका कार्यसम्पादनमा भयानक असर पर्नेछ भने बजेट कार्यान्वयन प्रभावित हुनेछ ।

कर्मचारीले नै मन्त्रीलाई पत्याउने छैनन् । किनकि छानबिन प्रतिवेदन जे आएपनि शर्माले बजेटमा घुसपैठ गरेकै हुन् भन्ने विषयमा मन्त्रालयका कर्मचारी जानकार छन् । यसले संकटग्रस्त अवस्थाबाट चलिरहेको अर्थतन्त्रलाई झनै तहसनहस बनाउने छ । शर्माको काँधमा बन्दुक राखेर प्रधानमन्त्री र माओवादी अध्यक्षको मिलिभगतमा राज्य शासनमाथि भने प्रहार भएकै छ । यसमा गठबन्धन जोगाउनु प्रधानमन्त्रीको स्वार्थ छ भने पार्टीको महासचिव व्यवस्थापन गर्नु प्रचण्डको स्वार्थ छ । त्यसबाहेक अर्थमन्त्रीले राजीनामा दिनुअघि सेटिङमा सुरु भएका कामहरु फत्ते गर्न सुनियोजित रुपले उनको पुनर्बहाली गरिएको हो ।