काठमाडौँ — रुस–युक्रेन युद्ध सुरु भएको ६ महिना वितिसक्दा समेत शान्त हुने कुनै लक्षण देखाएको छैन । युद्धका दिन जति बढ्दै गएको छ, त्यति नै जटिल बन्दै गएको घटनाक्रमले देखाइरहेको छ । रुस युक्रेन युद्ध १५९ औं दिनमा आईसक्दा पनि रोकिने कुनै संकेत देखिएको छैन । युद्धकै कारण आकासुएको इन्धन लगायतका उर्जाको मूल्यवृद्धि घट्ने क्रममा रहे पनि युद्ध भने झन् झनै पेचिलो बन्दै गएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नै नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रबाट नागरिकलाई बाहिर निस्कन निर्देशन नै दिएका छन् । पूर्वी डोनेट्स्क क्षेत्रको अधिकांश भूभाग रुसको नियन्त्रणमा रहेको बेला हाल त्यहाँ भीषण युद्ध भइरहेको छ ।
शुक्रबार नै रुसले उक्त क्षेत्रमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते भएका थिए । त्यसै कारण शनिबार राति जेलेन्स्कीले सम्बोधन गर्दै उक्त क्षेत्रमा युद्ध झन् चर्कन सक्ने चेतावनी दिँदै पूर्वी डोनेट्स्क क्षेत्र खाली गर्न आदेश दिएका हुन् । निकै भावुकपूर्ण सन्देश दिएका जेलेन्स्कीले भनेका छन्–“जति धेरै मानिसहरूले अहिले पूर्वी डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग उति नै कम समय हत्या गर्नका लागि हुनेछ ।” हालको युद्ध क्षेत्र पूर्वी डोनेट्स्कमा करिब ५२ हजार बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उनीहरूलाई युद्धको आगोमा हाल्नु भन्दा सुरक्षित रूपमा बाहिर निकाल्नु नै बुद्धिमता हुन्छ ।
शुक्रबार डोनेत्सकै ओलेनिभ्कामा ५० जना युक्रेनी युद्धबन्दीहरूको शंकास्पद मृत्यु भएको थियो । उक्त घटना रुसले घटाएको युक्रेनले दाबी गरिरहेको छ भने त्यसमा आफूहरूको कुनै संलग्नता नभएको रुसले बताउँदै आएको छ । यद्यपि जेलेन्स्कीले रुसलाई आतंकवादीको संज्ञा दिइरहदा रुसले भने घटनाको निष्पक्ष छानबिनका लागिसंयुक्त राष्ट्र संघ र रेडक्रसलाई आह्वान गरेको छ । रुस–युक्रेन युद्धले सिंगो विश्वलाई प्रभावित पारिरहेको छ । चाहे त्यो आर्थिक क्षेत्रमा होस् या सामाजिक मेलमिलापमा नै किन नहोस् । युद्धकै कारण विश्वभर खाद्य संकट चुलिँदो छ । खाद्य सुरक्षामा सवाल उठिरहँदा पनि शक्ति राष्ट्र भनिएकाहरु मुलुकहरु भने मुक दर्शक बनिरहेका छन् । विश्वमा शान्ति सुरक्षा कायम गर्न खर्बाै रुपैया खर्च गरेको राष्ट्र संघ पनि यो मामिलामा रमितेको बनिरहेको छ ।


प्रतिक्रिया