काठमाडौँ — नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग गरेको छ । नेपाल बारको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर न्यायपालिका प्रमुखविरुद्धको महाभियोग अलपत्र नपार्न आग्रह गरेको हो । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा राजनीतिक दलहरूलाई आफूहरूले दबाब दिने र पारित गर्नका लागि बाहिरबाट काम गर्ने भन्दै बारका अधिकारीले सभामुख सापकोटालाई महाभियोग थन्क्याएर नराख्न भनेको हो ।
महाभियोग प्रस्तावमा कुनै छलफल नै नभएकोप्रति बारको गम्भीर चासो रहेको कुरा सभामुखलाई जानकारी गराइएको नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । न्यायपालिकाको प्रमुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । त्यो प्रस्ताव दर्ता भएको यतिका महिना भइसक्यो । यसरी न्यायपालिका प्रमुखमाथि लागेको महाभियोगमा कुनै विषय पनि उठाउन नपर्ने कार्यसूचीमा पनि नपर्ने र छलफल पनि नगर्ने राम्रो भएन भनेका छौं, अध्यक्ष घिमिरेले कान्तिपुरसँग भने, महाभियोग प्रस्ताव अगाडि नबढेकोमा नेपाल बार एसोसिएसनको गम्भीर चासो छ भन्ने जानकारी गरायौं । संसद्ले महाभियोग प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि कमद चाल्नुपर्ने र सभामुखले त्यसको पहलकदमी लिनुपर्ने कुरा उठाइएको घिमिरेले बताए ।


प्रतिक्रिया