विदेश

युक्रेनका धनाढ्य व्यापारी दम्पती रूसी आक्रमणमा मारिए


काठमाडौँ — रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ। बिबिसीका अनुसार ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको हो । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा उनीहरू परेका हुन् ।

वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक थिए । उनलाई ‘युक्रेनको हिरो’ को रूपमा सम्मान गरिएको थियो। फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो । घरमै रहेका उनीहरू रूसी आक्रमणमा मारिएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वादातुर्स्कीको निधन राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन् । माइकोलायिभका मेयर अलेक्जेन्डर सेनकेबिचका अनुसार उनको सहरमा आइतबारको आक्रमण अहिलेसम्मकै ठूलो रूसी आक्रमण हो। एउटा होटल, स्पोर्ट्स कम्प्लेक्स, दुइटा विद्यालयमा पूर्ण क्षति भएको छ । एजेन्सी