काठमाडौँ — पोखरामा सम्पन्न महानगरका मेयरहरुको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन् । साथै महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका हुन् ।
घोषणापत्र जारी गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको फोहोर व्यवस्थापनमा चुनौती रहेको भन्दै यसको व्यवस्थापनका लागि संघ सरकारले पहल गर्नुपर्ने बताउनु भयो । बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनका कारण नै स्थानीय र संघीय सरकारले काम गर्न नसकेको बताउनु भयो । महानगरबीच आपसी समन्वय गरेर अन्य सरकार र राज्यका अंग र निकायसँग सूचना सम्प्रेषण र परामर्श गरेर सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।


प्रतिक्रिया