समाचार

यी क्षेत्रका नदीमा आज बहाव बढ्ने


काठमाडौँ — देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिम्लेस्थित अरुण, बुस्तीस्थित तामाकोसी, दिपायलस्थित पश्चिम सेती, मैनाचुलीस्थित कन्काई, बेलस्रोतस्थित कमला नदी, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज इलाम, झापा, संखुवासभा, उदयपुर, सिन्धुली, चितवन, नवलपरासी पूर्व, तनहुँ, कास्की, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

यस्तै, मधेस प्रदेशको तराई भूभाग भई बहने केही साना नदीहरूमा समेत बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।