समाचार

शेर्पालुङ राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दावा शेर्पा


काठमाडौँ — जनता समाजवादी पार्टी निकट शेर्पालुङ राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दावा शेर्पा चयन भएको छ ।

शनिबार शेर्पा पार्टी प्यालेसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले दावा शेर्पाको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमित चयन  गरेको हो । 

पहिचानमा आधारित १० जोड १ राष्ट्रिय समिति अन्तर्गत शेर्पालुङ क्षेत्रको दुई वटा समितिलाई समेटिएर समन्वय समिति गठन गरेको केन्द्रीय सदस्य लाक्पा शेर्पाले जानकारी दिए । समितिको उपाध्यक्षहरुमा रिन्जी शेर्पा, ल्हमु शेर्पा, नुर्बु शेर्पा, दीर्घमान तामाङ रहेका छन् ।

मुख्य सचिवमा महेशकुमार रानामगर, सचिवमा फुर्पुछिरिङ लामा, नुरु शेर्पा, फुरगेल शेर्पा छन् । कोषाध्यक्षको जिम्मेवारी ल्हाक्पा डोमा शेर्पाले पाएको संघीय परिषद सदस्य छेल्हमु शेर्पाले जानकारी दिइन् ।

मुलुक संघियतामा प्रवेश गरेसँगै जातिय पहिचानका आधारमा प्रदेशको नामकरण हुनु पर्ने मुद्धा पुरानो हो । वर्तमान सयमा जातीय पहिचानको धेरै नारा घन्काउने काम चाहीँ जनता समाजवादी पार्टी जसपाले गरिरहेको छ । तर पहिचान सहित प्रदेशको नामकरणको जोडवल अर्थ हिन प्राय बन्यो ।

कतै बहुमत, कतै सहमति गरेर ६ वटा प्रदेशको नामकरण भईसकेको छ । तर प्रदेश १ सरकार बनेर कार्यकाल सकिनै लाग्दापनि राजनीतिकदल, नेता र जातीय समूहहरुको स्वार्थ बाझिँदा नाम पाउन सकेको छैन । तीन जना मुख्यमन्त्री फेरिए २५ भन्दा बढि मन्त्री नै बने तर प्रदेश नाम विहिन छ । तत्काल नामकरण हुने सम्भावना थप न्यून देखिन्छ । कारण प्रदेश एकको नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै चर्को विरोध जारी छ ।