अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरिएको छ । तर अन्तर्यमा भ्रमणको उद्देश्यबारे दुबै पक्ष बोलेका छैनन् ।
भनिन्छ, कुटनीतिमा व्यक्तिका आनीबानी, बसाई, हिडाइँ, लवाईखवाई र बोलाईको निकै ठूलो अर्थ हुन्छ ।
बिहिबार मात्रै नेपाल झरेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको प्रेमकहानीसमेत त्यसकै एक हिस्सा हो । उनले नेपालमै आफ्नो प्रेम भएर विवाह भएको प्रसंग झिकेर एक भिडियो सार्वजनिक गरेका छन् ।जसमा नेपाल आफ्नो मुटुसँग जोडिएको उल्लेख गर्दै तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज घुमेको, जनकपुर र काठमाडौं घुम्दा गर्मीका कारण बसका छतहरुमा यात्रा गरेका जस्तो अमूल्य पलहरु शेयर गरेका छन् ।
नेपालीहरु भावनाका धनी छन्, क्षणमै आवेग र क्षणमै वियोगमा पुग्न सक्छन् ।नेपालीको भावनालाई बुझेर यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेन्टीमेन्टसँग खेलेका धेरै उदाहरणहरु छन् । अहिले चौतर्फी रुपमा लू को भ्रमणबारे आशंका भइरहेका बेला उनले आफ्नो ३० बर्ष पुरानो प्रेम कहानी सुनाएर सबैको ध्यान तानेका छन् ।
तथापी कुन उद्देश्य र औचित्यका लागि बिहिबार अपर्झट लू नेपाल झरेका हुन् भन्ने विषय सतहमा आएको छैन । किनकि उनको भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालय अनविज्ञ जस्तो छ भने अमेरिकी दूताबास समेत ढिला बोलेको छ । दूताबासले भनेजस्तै लूको यो भ्रमण नियमित नै हो कि यसको अन्तर्यमा अरु नै केही पाक्दैछ, विज्ञहरु अनेक कोणबाट विश्लेषण गरिरहेका छन् ।
गत बर्षको मंसिर १ मा लू यसैगरि नेपालको चारदिने भ्रमणमा आएका थिए । त्यतिबेलाको मूख्य उदेश्य संसदबाट एमसीसी पारित गराउनु थियो । कयौंपटक अमेरिकाबाट भएका भ्रमणहरुसमेत एमसीसी अनुमोदन गर्न असफल भइरहेका बेला लूको त्यो भ्रमण निर्णायक भएको थियो ।
किनकि लू मंसिरमा नेपाल आएर फर्किए, त्यसको तीन महिनापछि फागुन १५ मा सरकारले संसदबाट एमसीसी अनुमोदन ग¥यो । अहिले अमेरिकी सैन्य सम्झौता एसपीपीका बारेमा नेपालभरी तरंग छ । कुनै न कुनै बहानामा एसपीपी लागू गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी चलाइरहेका छन् र लू त्यसलाई थप बल पु¥याउन नेपाल आएका हुन् भन्ने विषय मुल चासोमा छ ।
तर शुक्रबारमात्रै परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी अघि नबढाउने भनेर पत्र पठाएको जानकारी संसदलाई गराएका छन् । त्यसको केही घण्टामै अमेरिकी दूताबासले समेत पत्र प्राप्त भएको जानकारी दिएको छ । त्यसलगत्तै परराष्ट्रमन्त्री खड्का र लूबीच भेटवार्ता भएको छ । शुक्रबार नै लूले प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गरेका छन् ।
यद्यपी उनीहरुबीच एसपीपीबारे के कुरा भयो भन्ने विषय सार्वजनिक भएको छैन । तर सतहमा नाम परिवर्तनको विषय आएको छ । एसपीपीमा विरोध भएपछि यसको शीर्षक परिवर्तन गरेर भएपनि सम्झौता गर्नुपर्ने पक्षमा प्रधानमन्त्री देउवा र लूबीच समझदारी बन्न थालेको विषय आएपछि यसले झनै सशंकित बनाएको छ ।
एमसीसीका बेला १२ बुँदे ब्याख्यात्मक घोषणासहित अनुमोदन गरिएजस्तै एसपीपीका बारेमा समेत त्यस्तै तयारी चलिरहेको त होइन भन्ने प्रश्न पनि छ ।


प्रतिक्रिया