Breaking

जनार्दन शर्मा प्रकरण: छानबिन समितिको प्रतिवेदन अपूर्ण छ: ज्ञवाली


काठमाडौँ — नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताएका हुन् । उनले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताए ।

ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको जानकारी दिए । उनले वास्तविक प्रमाणहरू जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भए पनि सत्तापक्षका सांसदहरू एकमत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताएका छन् ।

समितिको निष्कर्ष वास्तविकतामा आएन । वास्तविकतामा प्रवेश गर्ने प्रमाणहरूको सङ्कलन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अनधिकृत भनिएका व्यक्तिहरूको कल डिटेल लिने, मोबाइल लोकेसन पत्ता लगाउने कुरा, अर्थ मन्त्रालयमा त्यो दिन रहेका कर्मचारीको नाम लिएर सबैसँग बयान लिने कुराहरूमा समिति एक ठाउँमा उभिन सकेन । सत्तापक्षमा सांसदहरू त्यो विषयमा प्रवेश गर्न चाहनुभएन । त्यसले अनुसन्धान नै अधुरो भयो । अनुसन्धान गर्न सकिने सबै खालका उपकरण प्रयोग हुन नसकेपछि अनुसन्धान अधुरो रह्यो ।’