काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले सिसिटिभी फुटेजबारे निर्देशिका जारी गर्ने गृह मन्त्रालयले आफूले त्यो पालना नगरेको बताएको छ । शुक्रबार समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा गृह मन्त्रालयले सिंहदरबारको सिसिटिभी फुटेज नै १६ दिनसम्म मात्रै राखेको उल्लेख छ ।
छानबिनका क्रममा अर्थ मन्त्रालयबाट सान्दर्भिक फुटेज प्राप्त नभएपछि २०७९ साउन ८ मा समितिले गृह मन्त्रालयबाट सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिमतर्फको गेटमा रहेको सिसिटिभीको फुटेज मागेको थियो । गृहले जवाफमा १६ दिनसम्म मात्र फुटेजको अभिलेख रहने र त्यसपछि क्रमश आफैं डिलिट हुने बताएको थियो ।
सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ ले सिसिटिभी जडान गर्ने हरेक निकाय तथा व्यक्तिले कम्तीमा ३ महिनासम्म सिसिटिभीको अभिलेख राख्नुपर्ने र कुनै सरकारी निकायले अनुसन्धानको सिलसिलामा माग गरेमा तुरून्त उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरूले भने यो व्यवस्थाबारे आफूलाई जानकारी नै नभएको बताएका छन् । सरकारी सार्वजनिक निकायले सिसिटिभी जडान तथा सञ्चालन गरेमा सो को लिखित जानकारी १५ दिन भित्र नजिकको प्रहरी इकाई वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ मा उल्लेख भए तापनि अर्थ मन्त्रालयलाई उक्त कार्यविधि बारेमा जानकारी नै नभएको सम्बन्धित पदाधिकारीहरूसँगको छलफलबाट थाहा पाइयो,’ प्रतिवेदनमा भनिएको छ,‘कार्यविधि अनुसार उक्त कानुनी व्यवस्थाको पालना अर्थ मन्त्रालयले मात्र नभई निर्देशिका जारी गर्ने गृह मन्त्रालयले समेत नगरेको पाइएको छ ।’


प्रतिक्रिया