काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । लुले प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । त्यसअघि लुले शुक्रबार नै परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । उनीहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै उक्त भेटवार्तामा नेपाल र अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।
म अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिन्छु र उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु । उनले भनेका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार दुवै भेटवार्तामा अमेरिका र नेपाल बीचको सम्बन्धमा विषयमा छलफल भएको छ । दूतावासले अमेरिका–नेपाल ७५ वर्षको साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्ध लगायतका विषयमा छलफल भएको जनाएको छ ।


प्रतिक्रिया