Breaking

कैलाली भन्सार कार्यालयभित्र बाँदर आतङ्क


काठमाडौँ — कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीवार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिनुभयो । भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँ–ठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उहाँ नाक र मुख छोपेर हिँड्न बाध्य हुनुभएको हो ।

उहाँले भन्नुभयो, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ । भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ । भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भइ बरन्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्‍याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।

कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठाकोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै हुनुहुन्थ्यो । नाम भन्न नचाहेका उहाँले भन्नुभयो, ‘राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो ।’

कार्यालयको मुख्य ढोकाको छेउमा रहेको हेल्प डेस्कमा बसेका भन्सारका एक कर्मचारीले भन्नुभयो, ‘हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्‍यो । भन्सार छलेर चोरी पैठारीको अभियोगमा प्रहरीले झन्डै तीनचार बोरा परिमाणको ती खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । लिलाम गर्नुपर्ने ती खाद्य सामग्री कार्यालयको बरन्डामा थन्क्याइँदा भित्र पसेका बाँदरले खाएर नोक्सान पुर्‍याएका हुन् । ती खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ ।