Breaking

लिखुपिकेमा सिसाका बोतल प्रतिबन्ध


काठमाडौँ — सोलुखुम्बुको लिखुपिके गाउँपालिका आसपासका पर्यटकीय र धार्मिक क्षेत्रलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा पाइने पेय पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

लिखुपिके गाउँपालिकामा रहेको होटल तथा रेस्टुरेन्टले सिसाको बोतलमा मदिरा लगायतका पेय पदार्थ बिक्री गर्ने र जथाभावी फ्याँक्ने गरेपछि गाउँपालिका आसपासका पर्यटकीय स्थाल र पिके डाडाँमा समेत फोहोर बढेको छ । जथाभावी फ्याँकिएको बोतलले सौन्दर्य नै बिगारेपछि लिखुपिके गाउँपालिका वडा ३ मा -स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित ध्रुबबहादुर बस्नेतले सूचानानै जारी गरेर सिसाको बोतलमा प्रतिबन्ध लगाउनुभएको छ ।


स्थानीय होटल तथा रेस्टुरेन्टमा थुपारिएका र आसपासका क्षेत्रमा फ्याँकिएका सिसाका बोतल जम्मा पारेर व्यवस्थापना गर्ने र आगामी दिनमा कसैले पनि सिसाको पेय पदार्थ प्रयोग गर्न तथा बिक्री वितरणमा गर्न नपाउने बस्नेतले योहो खबरलाई जनाकारी दिनुभयो । बस्नेतले भन्नुभयो, ‘होटल तथा रेस्टुरेन्टले अबदेखि सिसाको बोतलमा पाइने कुनै पनि पेय पदार्थ बिक्री पाइने छैन् ।’

उहाँका अनुुसार होटल तथा रेस्टुरेन्टमा स्टक रहेको सामान बिक्री गर्न ६ महिनाको समय दिएको र आगामी दिनमा अरू भित्र्याउन नपाइने अध्यक्ष बस्नेतले बताउनुभयो । ‘सिसाको बोतलको बियर भित्र्याउनै पाइँदैन,’उहाँले भन्नुभयो ‘क्यानमा रहेको पेय पदार्थ बेच्न पाइन्छ।’ कुनै होटल तथा रेस्टुरेन्टले महँगो मुल्य पर्ने सिसाको मदिरा बेच्नु ६ महिनाको समय दिइएको छ ।

‘गाउँपालिका आसपास र पर्यटकीय, धार्मिक स्थाल तथा बस्ती क्षेत्रमा जथाभावी मदिराका सिसाको बोतल फ्याँक्दा फोहोर भयो,’ उहाँले भन्नुभयो, ‘त्यही भएर अबदेखि सिसाको बोतलमा भएको मदिरा बिक्री गर्न नपाइने नियम बनाएका छौं ।’ मदिरा पिएपछि सिसा बिक्री नहुने र संकलन गरेर ल्याउँदा पनि फुट्ने भएकाले व्यवसायीले ती बोतल आसपासका क्षेत्रमा फ्याँक्ने गरेका थिए ।

‘प्लास्टिकको बोतल वा क्यानमा आयात गरिएको कुनै पनि मदिरा बिक्री गर्न पाइन्छ । तर, अब सिसामा मात्र नपाइने हो,’उहाँले भन्नुभये, ‘सबैभन्दा बढी खपत सिसाको बोतलको बियर हुने गरेको थियो । अब सिसाको सट्टा क्यान मात्र प्रयोगमा आउनेछ ।’ उहाँका अनुसार मदिराबाहेकका नरम पेय पदार्थ (कोक, फ्यान्टा, स्प्राइट, पेप्सीलगायत) भने त्यस क्षेत्रमा प्लास्टिकको बोतलमा बिक्री गर्ने गरिएको थियो ।

वडाले आगामी दिनमा सिसाका बोतलमा मदिर आयात गरेर बेच्नेलाई कारबाही र जरिवाना गर्ने गरी निर्णय गरेको बस्नेतले जानकारी दिनुभयो । ‘हामीले मदिरा नै नबेच भनेको होइन । तर, सिसाको बोतलको सट्टा प्लास्टिक वा क्यानको बिक्री गर्न भनेका हौं,’उहाँले भन्नुभयो ।

अध्यक्ष बस्नेतका अनुसार प्लास्टिक र क्यानका बोतल रिसाइकलपछि पुनः प्रयोग गर्न मिल्ने, सिसाको बोतल बिक्री नै हुँदैन र पुन प्रयोगमा पनि ल्याउन नसकिने भएकाले प्रतिबन्ध लगाएको हो ।

सहरमा जस्तो घरघरैबाट सिसा बिक्री नहुँदा त्यहाँका व्यवसायीले घरमै थुपारेर राख्ने गरेका थिए । कतिपयले आसपासका खाली मैदानमा समेत सिसाका बोतल फ्याँक्दा पर्यटकीय क्षेत्र कुरुप देखिएको छ ।

पछिल्लो समय लिखुपिकेमा दिनानुदिन चाप बढिरहेको अवस्थामा औपचारिक रूपमै यस क्षेत्रलालाई प्लास्टिक र सिसामुक्त क्षेत्र घोषणा गर्न अभियान सञ्चालन गर्नुपर्ने पर्यटन व्यवासयी आङ फुर्वा शेर्पा बताउनुहुन्छ । शेर्पाका अनुसार धार्मिक र पर्यटक क्षेत्र जस्तो पवित्र स्थानमा दिनानुदिन फोहोरमैला व्यापक रूपमा बढ्दा नकारात्मक सन्देश गएको छ । पछिल्लो समय धार्मिक तथा पर्यटकीय स्थलमा फोहोरमैला तथा प्रदूषणले बिस्तारै पहिचान नै हराउने त्रास बढेको उहाँले बताउनुभयो ।

पहिला-पहिला लिखुपिकेबासीका घरको छानाछानामा दाउराको थुप्रो देखिने गरेकोमा पछिल्लो समय मदिराका बोतलको थुप्रो देख्नुपरेको छ । ‘दाउराको ठाउँ अहिले मदिराका बोतलले भरिएको छ,’ उहाँले भन्नुभयो, ‘धार्मिक महत्वको क्षेत्रमा यसले विकृति ल्यायो ।’ गाउँपालिका मात्र नभएर सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि सहयोगी भूमिका निर्वाह गरिदिएमा लिखुपिके क्षेत्रको सरसफाइमा सहज हुने देखिन्छ ।