काठमाडौँ — पछिल्लो समय सीमा क्षेत्रमा रोजगारीका लागि भारत जाने नेपालीको लर्को लाग्ने गरेको छ । नेपालमा काम गरेअनुरुपको पारिश्रमीक नपाइने भन्दै घरपरिवारको गुजारा चलाउनकै लागि बर्खायाममा धान रोपाइँ गर्न नेपाल आएका अधिकांश नागरिक पुनः भारत प्रस्थान गरेका हुन् । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ ।
असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् ।
नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ । पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शाहीले बताउछन् । उनले आफ्नो गाँउ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए ।
पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर बि.क. जेठ महिनामा खेती लगाउनका लागि घर फर्किएका थिए । तर उनलाई भारतमै काम गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको बताए ।
भारतमा आफूले गरेको कामअनुसार पारिश्रमीक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको कालिकोटका नागरिकले बताए । त्यस्तै सुर्खेतबाट भारत जान लागेका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए ।
पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् । सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमीकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।


प्रतिक्रिया