काठमाडौँ — साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो खेलमा जित हात पारेको छ। भुवनेश्वरमा बुधबार भएको खेलमा बंगलादेशले घरेलु टिम भारतलाई २-१ गोलले पराजित गर्यो । खेलको २९ मिनेटमा बंगलादेशले घरेलु टिमविरूद्ध अग्रता लियो । बंगलादेशका लागि पिएस अहमेदले भारतका डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउँदै गोल गरे । भारतका डिफेन्डरले बल क्लियर गर्न नसकेपछि उनले गोल गरे ।
भारतले ३५ मिनेटमा गोल फर्कायो । भारतका लागि गुरकिरत सिंहले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफको इन्जुरी टाइममा बंगलादेशले पेनाल्टी पायो । भारतीय खेलाडीले बंगलादेशका पिएसलाई फल गरेका थिए। त्यसपछि प्राप्त पेनाल्टीमा उनले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।
यसअघि पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो । प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपाली समयअनुसार साँझ सवा सात बजे नेपालले श्रीलंकासँग भिड्दैछ । यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० को सानदार जित दर्ता गराएको थियो ।
प्रतिक्रिया