Breaking

काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।

१२ गते बिहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।

विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो ।

छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो । 

प्रमुख शाहको अध्यक्षतामा गठित समितिको सदस्यहरूमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष हरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली रहेका छन् ।