समाचार

एकान्तकुनामा टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ — ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।

मंगलबार राति नौ बजे बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको हो ।

राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।