समाचार

नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु


काठमाडौँ – नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो । तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए ।

उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।