Breaking

सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन


काठमाडौँ – गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।

सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर गरेका हुन् । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ । सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ ।

सिंहदरबार भित्रको सीसीटिभीको अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ ।