Breaking

अतिरुद्र महायज्ञमा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा विरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ


काठमाडौँ — पशुपतिनाथ क्षेत्रमा सातादेखि अतिरुद्र महायज्ञमा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन्। तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन्।
आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध जनाएकी थिइन्।
त्यसपछि उनलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ। पशुपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ। महायज्ञका प्रमुख वाचक गिरीविरुद्ध अहिले जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ। उक्त महायज्ञको उद्घाटनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

त्यसैगरी महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि विचाराधीन मुद्दाका प्रतिवादी नै सहभागी कार्यक्रममा पुगेका थिए। गिरीविरुद्ध अनुयायीले बलात्कार अभियोग लगाएपछि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको थियो। तर गिरीलाई सुनसरी अदालतले सफाइ दिएको थियो। त्यसलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा अपील दर्ता गराएको थियो। उच्चले फेरि मिसिल अध्ययन गरेर आवश्यक निर्णय लिन जिल्ला अदालत सुनसरीका नाममा आदेश दिएको थियो।