Breaking

नेपालका शहरहरुमा चिनियाँको अपराध जालो : अभियोग पुष्टि गर्ने बलियो आधार छैन


काठमाडौं — नेपाल प्रहरीले सोमबार काठमाडौंको तीनकुनेस्थित गैरिगाउँमा चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गर्‍यो । व्यवसायी सुरज वैद्यको घर भाडामा लिएर उनीहरुले स्काई वर्ल्ड सर्भिस सेन्टर’ कम्पनीको आवरणमा अवैध कल सेन्टर चलाइरहेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार पक्राउ पर्नेमा कम्पनीका व्यवस्थापकीय प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हु एन्ह्वा, भारतीय नागरिक मनोज शैनी, नेहा गुप्तालगायत छन् ।

उनका अनुसार छापा मारिएको स्थानबाट ८ लाख २९ हजार रुपैयाँ, २६२ ल्यापटप र ७४८ डेस्कटप कम्प्युटर बरामद भएको छ । डिजिटल वालेट चलाएर उनीहरुले भारतलगायत विभिन्न मुलुकका व्यक्तिहरुलाई ऋण प्रवाह गरेको सूचना छ । बोहोराले जस्तै उनीहरुले २० हजार रुपैयाँ ऋण दिने भए भने ब्याजवापतको ५ हजार सुरुवातमै कटाएर १५ हजार रुपैयाँ मात्रै दिने रहेछन् ।

यसरी दिइएको रकम तोकिएको समयमा फिर्ता नगरे फोन गरेर धम्की र ब्ल्याकमेलिङ सुरु हुने गरेको बोहोरा बताउँछन् । ऋणका लागि एप्लिकेसनमा लगइन गर्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने आधार कार्ड, रासन कार्ड लगायतका विवरण पनि लैजाने हुँदा त्यही आडमा पछि धम्क्याउने गरेको बोहोराको दाबी छ । तर, चिनियाँको यी गतिविधिलाई पुष्टि गर्ने बलियो आधार प्रहरीसँग छैन ।