Breaking

सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुख अग्नि सापकोटाको आग्रह


काठमाडौँ — सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुख अग्नि सापकोटाले आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’

सांसदहरुलाई मास्क लगाउन आग्रह गर्दैगर्दा सभामुख आफैंले भने मास्क लगाएका थिएनन् । संसद बैठक सुरु हुनुभन्दा अगाडि भने उनले मास्क लगाएका थिए । राष्ट्रिय गान बजिसकेपछि भने उनले मास्क खोलेर बैठक सन्चालन गरेका थिए । राष्ट्रियसभामा उत्पत्ति भएको तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई अनुमति दिएपछि मात्र मास्क प्रयोग गरेका थिए ।