काठमाडौँ — तीन वर्षअघि नेपालमा पहिलोपटक देखिएको कोरोनाले सबैजनालाई त्रसित बनाएको थियो । सारा विश्वमा तहल्का मच्चाएको कोरोना सो त्रास अझै पनि कायमै छ । तर पछिल्लो स्वास्थ्य मापदण्डको पालनामा नागरिकको सतर्कतामा कमी आएको छ । जसले कोरोनाको जोखिम आज पनि उत्तिकै छ । पछिल्लो समय विश्वभर कोरोना संक्रमणदर बढ्दो छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण पुनः बढ्न थालेको छ। भारतमा पछिल्लो एक दिनमा मात्रै झण्डै १७हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । १६ हजार ८ सय ६६ जनामा कोरोना देखिँदा ४१ जनाको मृत्यु भएको छ । त्यस्तै त्यहाँ सक्रिय संक्रमितको संख्या पनि १ लाख ५२ हजार २ सय पुगेको छ ।
भारतमा जे भए पनि त्यहाँको प्रभाव नेपालमा स्वतः पर्ने गर्छ । त्यस्तै भारतमा कोरोनाको संक्रमित बढेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा पनि कोरोना संक्रमितको दर प्रत्येक दिन निरन्तर बढी नै रहेको छ । साउन महिना लागेसँगै संक्रमितको दर ह्वात्तै बढेको छ । साउन १ गते १ सय ३५ जनामा देखिएको संक्रमण २ मा भने ४ सय ५७ मा पुग्यो । त्यस्तै ३ गते केही घटेर ३ सय ५७ मा झरेको संक्रमण दर ४ गते देखि भने निरन्तर उकालो लाग्न सुरु भएको थियो । ४ गते ३ सय ९१ जनामा देखिएको संक्रमण ५ र ६ गते भने ४ सय ३५ र ४ सय ५६ पुग्यो । ७ गते घटेर ३ सय ३५ मा झरे पनि ८ गते भने फेरि बढेर ३ सय ४७ पुग्यो । त्यस्तै आज पनि संक्रमितको दरले ५ सयको आँकडा पनि पार गरेको छ । आज ५३८ जना नयाँ संक्रमित थपिएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ३ हजार ५ सय ३४ पुगेको छ ।
संक्रमित मात्रै बढिरहेको छैन कि कोरोना कै कारण आईसीयूमा भर्ना हुनेको संख्या पनि बढि रहेको छ । सक्रिय संक्रमितमध्ये १२७ जना अस्पतालमा उपचाररत छन् ।२९ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा छन् । एक साताअघि यो संख्या क्रमशः ७५, १५ र १ मा सीमित थियो । यसरी कोरोना संक्रमित निरन्तर जस्तै बढिरहे पनि नागरिकमा भने खास्सै फरक परेको देखिँदैन । नेपालमा कोरोना अझै पनि छ भन्ने सबैले बिर्सिसकेको भान सडकमा र सार्वजनिक स्थानमा हुने भीडभाडले देखाएको छ । न उनीहररुको मुखमा माक्स देखिन्छ न नै भौतिक दुरीको पालना गरेको अवस्था छ । कोरोनाका कारण झन्डै १२ हजार नेपालीले अकालमा ज्यान गुमाउनुपरेको कुरा सबैको मस्तिष्कबाट हटिसकेको छ । निस्फिक्री रुपमा घुमघाम गर्ने क्रम बढ्दो छ ।
कोरोनाको भयावहस्थितिबाट बच्न नागरिक आफै पनि सचेत हुनु पर्ने जरुरी छ । कोरोना हराइसक्यो भनेर ख्यालख्याल नगरौं । कोरोना नियन्त्रणभन्दा बाहिर गयो भने कस्तो अवस्थामा देश पुग्छ भन्ने विगतले हामी सबैलाई राम्रो पाठ सिकाइसकेको छ ।कोरोना लागेका कतिले ज्यान गुमाए, कतिले नयाँ जीवन पाए । ती सबैका तीतो र मिठो अनुभव छन् । त्यसैले आफ्नो सुरक्षातिर आफैंले ध्यान दिऔं । अब जनता आफैं पनि सचेत हुनुपर्छ । साथै, सरकार पनि अलिकति जिम्मेवार बनिदेऊ, किनकि कोरोना फैलिसकेको छ ।
प्रतिक्रिया