काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको उनले संकेत गरेका थिए । सभामुख सापकोटाले भने, हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । जनै लाउँछौं तर नलगाउने चीनबाट पठाइदिन्छन् राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ।
यस क्रममा सभामुख सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका थिए। सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले साइरनको भाषाको रुपमा आएको युवाहरूको आवाजलाई सुन्नु पर्ने बताए । अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ । यद्यपि उनले विश्वभर अराजकता र अन्तरविरोध मडारिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विश्वभर विभिन्न विषयमा अन्तरविरोध देखिँदा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया