Breaking

सांसद्हरुद्वारा आगामी निर्वाचन, भूमि आयोगको काम, सामाजिक सुरक्षा लगायत विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ — आइतबार बसेको प्रतिनिधि सभा बैठक पनि सांसद्हरुले समसामायीक घटनाक्रमका बारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमानिर्वाचनको मिति घोषणा,राष्ट्रिय भूमि आयोगले काम कारबाही,मिर्गौला र क्यान्सर पीडितलाई आर्थिक सहयोगलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएकोे आशंका व्यक्त गरे ।

त्यसैगरी,प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले राष्ट्रिय भूमि आयोगले काम, कारबाही सुस्त गरेको बताइन्। उनले जग्गाको नापी भइसकेको स्थानमा जग्गा धनि पुर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण समेत गराइन् । त्यस्तै , प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले मिर्गौला र क्यान्सर पीडितलाई मासिक पाँच हजार रुपैयाँ दिने प्रतिवद्धता कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले नेपाली काँग्रेसको नेतृत्वको सरकारले वि.सं.२०४८ सालमा नीजिकरण गरिएको उद्योग कस्तो अवस्थामा छ सो को संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरे । प्रतिनिधि सभा सदस्य सत्य पहाडीले सामाजिक सुरक्षा भत्ता लिन पालिकाको केन्द्रसम्म जानुपर्ने अवस्था कतिपय ठाउँमा कठिन भएका कारण वडामै घुम्ती बैंकिङ सेवामार्फत दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै प्रतिनिधि सभामा बोल्ने क्रममासदस्य समिना हुसेनले मधेस प्रदेशमा महिला हिंसा र हत्याको घटना बढेको उल्लेख गर्दै अपराधी र दोषीलाई कानूनी कारबाही गर्न मागगरिन भने अर्का सदस्य हीरा गुरुङले दव्न्द्व पीडितको समस्या समाधान गर्न ठोस योजना ल्याउन सरकारसँग माग गरे । त्यस्तै सदस्य शान्ता चौधरीले मुक्त कमैया र मुक्त कमलरीहरुको हालसम्म यथोचित पुनस्र्थापना नभएको भन्दै पुनस्र्थापना गर्न माग गरिन् ।