देश

शेर्पा कलाकार संघको अध्यक्षमा कुङगा शेर्पा निर्विरोध निर्वाचित


काठमाडौँ — शेर्पाकलाकार संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा कुङगा शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार नेपाल शेर्पा संघको भवनमा आदिवासी जनजाति महासंघ तथा शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामाको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो महाधिवेशनबाट कुङगा शेर्पाको अध्यक्षमा १९ सदस्यीय नयाँ कार्यसमित चयन भएको हो ।

शेर्पा कलाकार संघको वरिष्ठ उपाध्यक्षमा दावा के शेर्पा, उपाध्यक्षमा साङ्गे शेर्पा र केसाङ शेर्पा, महासचिवमा ल्हमु शेर्पा, सचिव सोनाम शेर्पा,सह-सचिवमा डिजे सोनाम शेर्पा, कोषाध्यक्षमा पाल्मु शेर्पा, सह-कोषाध्यक्षमा आङ तेन्जी शेर्पा लगायत १९ जना निर्विरोध निर्वाचित भएको महासचिब ल्हमु शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा कलाकार संघले स्थापनाकाल देखिनै ७७ वटै जिल्लाका शेर्पा कलाकारहरुलाई एकत्रित गर्ने, कलाकारको हकहितको विषय उठान गर्ने, दुःखमा परेका शेर्पाहरुलाई सहयोग गर्ने गर्दै आएको छ ।

केहि महिनाअघि बिरामी परेका पासाङ शेर्पालाई शेर्पा कलाकार संघले उपचारका साथै कक्षा १२ सम्म पढाउने निर्णय गरेको थियो ।

नव निर्वाचित अध्यक्ष कुङगा शेर्पाले कलाकारको हकहित र सामाजिक सेवामा क्रियाशील रहने जानकारी दिनुभयो । शेर्पा कलाकार संघ २०७४ सालमा स्थापना भएको गैरनाफा मुलक संस्था हो ।