Breaking

कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न सक्दैनौं: नारायणकाजी श्रेष्ठ


काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने बताएका छन् । नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी केन्द्रले पार्टीको अडान विपरीत नेपाली कांग्रेसलाई साथ दिएको भन्दै नेता श्रेष्ठले गठबन्धनको नाममा सधैं बलजफ्ती स्वीकार्न नसक्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्’ श्रेष्ठले शनिबार दिउँसो फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकको प्रावधान, अमेरिकी सहयोग परियोजना ९एमसीसी० र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा श्रेष्ठले असहमति जनाएका छन् । नागरिकता विधेयकमा माओवादीको अडान नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्छ भन्ने रहेको भन्दै नेता श्रेष्ठले अहिले विधेयक पारितको प्रक्रिया गलत रहेको बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानसहित विधेयक बहुमतले पारित गरेको भन्दै उनले सरकारले उक्त विधेयक फिर्ता लिएर त्यतिबेला अल्पमतमा परेको विषय उठाएर पारित गर्नु गलत भएको बताए । यो बिधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैबाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुबै कोणबाट गलत छ’ उनले भने ।

नागरिकता ऐन संशोधनमा ढिलाइ भए पनि सरकारले गलत प्रक्रिया अपनाएको उनले बताए । ‘सरकारले या त संसदभित्र सहमति कायम गरेर त्यसको आधारमा अघि बढाउनुपर्थ्यो या सम्बन्धित समितिले २ बर्ष लगाएर पठाएको प्रतिवेदन नै छलफल एवं निर्णय प्रक्रियामा लैजानु पर्दथ्यो’ श्रेष्ठले भने ।