विदेश

अमेरिकी सभामुखले ताइवान भ्रमण गरे कठोर कदम चाल्ने चीनको चेतावनी


काठमाडौँ — अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट छ । भ्रमणको दिन नजिकिँदै गर्दा चीनले कडा प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले ‘पेलोसीले भ्रमण रद्द नगरे ‘आफूहरुले कठोर कदम चाल्ने’ चेतावनी दिएको छ । रक्षा मन्त्रालयले पनि उसको वेबसाइटमा एक विज्ञप्ति राखेर विरोध अभिव्यक्त गरेको छ । ‘चीनको जनमुक्ति सेनाले बाह्य शक्तिको कुनै पनि प्रकारको हस्तक्षेप र ‘ताइवान स्वतन्त्र बनाउने’ पृथकतावादीहरुको षडयन्त्रलाई विफल बनाउनेछ,’ मंगलबार मन्त्रालयको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ ।

यसमा स्पष्ट अमेरिकी सभामुखको भ्रमणलाई इंगित नगरेको भएपनि संकेत त्यसैतर्फ रहेको बुझ्न सकिन्छ । अमेरिकी राजकीय वरियतामा राष्ट्रपति र उपराष्ट्रपति पछि तेस्रो स्थानमा रहेकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको ताइवान भ्रमणले पृथकतावादीहरुलाई खराब सन्देश दिने चीनले बताएको छ । पेलोसीले अप्रिलमै ताइवान भ्रमण गर्ने भनिएको थियो । तर अन्तिममा उनी कोरोना संक्रमित भएपछि भ्रमण पछिका लागि सारिएको थियो । अब उनी अगष्टमा सो टापु जाँदैछिन् । ताइवानलाई चीनले आफ्नो भू–भाग मान्ने गरेकाले आफ्नो अनुमतीविना विदेशी नेताको भ्रमणको विरोध गर्ने गर्छ ।

मुलभूमि चीनले ताइवानलाई ‘दोस्रो विश्व युद्धको वरपर देश एकदम कमजोर रहेको बेला तितरवितर भएका भूभागहरुलाई एक गर्न बाँकी अन्तिम इकाई’ मान्दै आएको छ । ताइवानभित्र भने चीनसँग एक हुनुपर्ने र स्वतन्त्र राष्ट्रका रुपमा अघि बढ्नुपर्ने दुई धार छ । वर्तमान राष्ट्रपति साई इङ वेन स्वतन्त्रता पक्षधर नेता हुन् । उनको आगमनपछि चीन र ताइवान बीचको तनाव बढ्दै गएको छ ।

पछिल्लो समय चीनले ताइवानी हवाई क्षेत्रमा लडाकु विमान उडाउने र ताइवान कब्जाको परिदृश्यमा सैन्य अभ्यास गराउन थालेको छ । यी क्रियाकलाप ताइवानलाई स्वतन्त्र गराउने चाहने तप्काहरुलाई चेतावनी भएको उसको तर्क छ । यदि पेलोसी ताइवान गइन् भने उनी २५ वर्षपछि सो भूमि टेक्ने सबैभन्दा शीर्ष अमेरिकी विधायक हुनेछिन् । २५ वर्षअघि अमेरिकी तल्लो सदनकी सभामुख न्युट गिङरिच ताइवान पुगेका थिए । ‘पेलोसीको भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको अवज्ञा गर्नेछ । यसबाट अमेरिका–चीन सम्बन्धको जगलाई नै गम्भीर असर पर्नेछ । साथमा यसले ताइवानको स्वतन्त्रता चाहने शक्तिलाई गलत सन्देश प्रवाहित गर्छ,’ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले नियमित ब्रिफिङमा भने ।

‘यदि अमेरिकाले गलत मार्गमा अघि बढ्ने जिद्दी गर्छ भने चीनले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता जोगाउन कठोर कदम चाल्नेछ,’ झाओले भने । ह्वाइट हाउसका प्रेस सचिव करिन जँ–पियरेले पेलोसीको आगामी भ्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेकी छन् । तथापि उनले अमेरिका ‘एक चीन’ नीति प्रति कटिबद्ध रहेको बताइन् । अमेरिकाले एक चीन नीतिप्रति समर्थन जनाए पनि ताइवानसँग अनौपचारिक सम्बन्ध र सुरक्षा साझेदारी कायम गर्ने गरेको छ । वाशिङ्टनमा ताइवानको सबैभन्दा बलियो राजनीतिक सहयोगी तथा अस्त्र निर्यातक मुलुक हो । झाओले पेलोसीको भ्रमण भएमा कस्तो कदम चालिने भन्ने कुरा स्पष्ट पारेनन् । विगतमा बेइजिङले आफ्नो असन्तुष्टि जनाउनका लागि लडाकू विमानको उडान तथा युद्ध अभ्यासलाई तिब्र बनाउने गथ्र्यो । एजेन्सी