Breaking

समयको ख्याल नगर्दा शुन्य समयमा बोल्ने सांसद् प्रभावहिन बन्दै, माइक बन्द भएको ख्यालै भएन


प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सक्दैनन् । आजको प्रतिनिधि सभा बैठकको शुन्य समयमा पनि यस्तै अवस्था देखियो ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको ख्याल नै गर्दैनन् । समयको ख्याल नगरि आफ्ना भनाइ राखिरहँदा उनीहरुको भनाईले पूर्णता नै नपाउने सधैको समस्या हो । बिहिवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा पनि यस्तै अवस्था देखियो ।

अधिकांश सांसदहरुले समयको पावन्दीमा रहेर विषयवस्तु प्रश्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुंग्याउनु प¥यो । सांसदहरुले धेरै विषयवस्तु राख्न त खोजे तर कुनैपनि विषयलाई पूरा गर्न सकेनन् । शुन्य समयमा बोल्ने नेकपा एमालेका सांसद महेश बस्नेत, एमालेकै सांसद रामबीर मानन्धर, नेपाली काँग्रेसका राजेन्द्र केसी लगायतका अन्य सांसदहरु समयमै आफ्ना कुरा संसदसमक्ष राख्नबाट चुके । शुन्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले समयको किटान गरेर (हरेक सांसदलाई १ मिनेट) मात्र बोल्ने अवसर दिए ।

तर सांसदहरुको विषय, प्रश्तुत गर्ने शैली शुन्य समयमा तोकिएको समयसीमा भन्दा लामो थियो । जसकारण पनि उनीहरले अपूरो वाक्य मात्रै बोल्न भ्याए । आधा विषयवस्तु बोल्दा नै उनीहरुको समय सकिएर माइकमा साउण्ड काटिएको थियो । संसदमा प्रभाव जमाएका सांसदहरु समेत संसदको शुन्य समयको परीक्षामा अनुत्तिर्ण रहे । बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने एमाले सांसद महेश बस्नेतले पूरा विषय बोल्न नपाउँदै एक मिनेटको समय सकिएको थियो ।

समय सकिएर माइकमा साउण्ड नआएपछि उनी मुसुक्क हाँस्दै आफ्नो आसनमा बस्न बाध्य भए । त्यस्तै शुन्य समयमा बोल्ने मायादेवी न्यौपानेले पनि बोल्दाबोल्दै समय सकिएको थियो । उनले भर्खरै उपसभामुखमा निर्वाचित पुष्पा भुसाललाई सफल कार्यकालको शुभकामना दिँदा नै एक मिनेटको समय सकिएको थियो । तर सांसद न्यौपानेले शुभकामनापछि मातृकाप्रसाद कोईराला र अर्का नेता भन्ने क्रममा नै समय सकियो । उनले पनि यो वाक्यांश नै पूरा गर्न सकिनन् ।

लगत्तै बोल्ने सांसद मिना सुब्बाले पनि एक मिनेटको समयमा कुरा राख्न सकिनन् । उनले निर्वाचन आयोगले खरिद गरेका सामग्री प्रयोग विहीन भएको विषयमा संसदमा विषय उठान गरिन् । यत्तिकैमा उनको समय सकियो । शुन्य समयमा बोलेका सांसद रामवीर मान्नधरको अवस्था पनि माथिका सांसदको भन्दा फरक थिएन । उनले श्रीमानहरुले बनाएको प्रचण्ड प्रतापी भूपतिको सरकारले एक वर्षमा कुनैपनि राम्रो काम नगरेको आरोप लगाए ।

उनले सरकारले गरेका कामको छानबिन गर्न धेरै संसदीय समिति बनेको तर काम नभएको भन्दै ती समितिलाई पनि छानबिन गर्ने संसदीय महासमिति गठन गर्नुपर्ने माग गरे । सांसद मान्नधरले गठन गरेकोे महासमितिले यस्तो निस्कर्ष निकालोस् भन्न नपाउँदै समय सकियो ।

यसरी बिहीवारको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्ने १० जना संसदहरुले एक मिनेटको समयमा आधा मात्रै कुरा राख्न पाए । सांसदहरु आवश्यक समयमा बोल्ने विषयवस्तु तय गर्न नसक्दा समय सीमामा धेरैपटक चुकेका छन् । यी बिहिवारको प्रतिनिधि सभाका प्रतिनिधिमुलक घटना मात्रै हुन् ।