Breaking

प्रदेश १ को नाम लिम्बुवान अटाउन नसके ८ वटा प्रदेश बनाउन संघर्ष गर्ने चेतावनी


काठमाडौँ — लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात–लिम्बुवान हुनुपर्नेमा जोड दिएको हो ।

लिम्बुवान नजोडिए ८ प्रदेशको माग गर्दै आन्दोलनमा जाने संघर्ष समितिका संयोजक प्रेम याक्थुमले बताए । ‘हामी लिम्बुवानको आन्दोलनमा सबैलाई संयोजन गर्ने जिम्मा किरात याक्थुम चुम्लुङले गरेको छ । यसमा हामीमात्रै छैनौं । सम्पूर्ण पहिचानवादीको साथ छ,’ उनले भने, ‘नाममा लिम्बुवान नजोड्ने परिस्थिति हुने हो भने प्रदेश नम्बर ८ बनाएर लिम्बुवानका लागि फरक तरिकाले हामी लड्नुपर्ने हुनसक्छ ।’

उनले कहिल्यै पनि आन्दोलनका क्रममा नआएको नाम कोशी र सगरमाथा अहिले चर्चामा आएको भन्दै लिम्बुवानको विषयमा संसदमा बहस नहुने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले प्रदेशको नाममा लिम्बुवान नजोडे अधुरो रहने पनि बताए । ज्ञापनपत्र बुझ्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले किरातकै छाताभित्रै लिम्बुवान पनि हुन्छ भन्ने हिसाबले प्रस्ताव आएको भन्दै लिम्बुवान जोड्दा पनि फरक नपर्ने बताए ।