Breaking

बाबुराम–प्रचण्डबीच बिहीबार पनि भेटवार्ता


काठमाडौँ — जनता समाजवादी पार्टीबाट बारबाहीमा परेर अलग्गिएका डा बाबुराम भट्टराई अहिले दिनहुँजसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तामा व्यस्त छन् । भेटघाट बाक्लो चलिरहेकै क्रममा बिहीबार हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा दुई नेताबीच घनीभूत छलफल भएको बताइएको छ ।

कुनै समयका सहयोद्धाद्वयबीच आगामी दिनमा कसरी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । छलफलमा प्रचण्डले माओवादीमै फर्किएर नयाँ ढंगले अघि बढ्न प्रस्ताव राखेका छन् भने डा। भट्टराईले प्रचण्डलाई माओवादी पुनर्गठन गर्न प्रस्ताव राखेका छन् ।

अध्यक्ष प्रचण्डको प्रस्ताव डा भट्टराईले पार्टीको नाममात्र परिवर्तन गर्ने होइन, समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढ्न प्रस्ताव राखेका छन् । अध्यक्ष प्रचण्डले पार्टीबाट अलग्गिएर हिँडेका बाबुरामलाई यसअघि देखि नै पटक पटक माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएका छन् ।

बाबुरामले प्रचण्डसँगै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग पनि उनकै निवासमा गएर पटकपटक भेटवार्ता गरिसकेका छन् । माओवादी पार्टीमै फर्किन नसके पनि समाजवादी केन्द्र खोलेर सहकार्य गर्न सकिने विषयमा पनि बाबुरामले प्रचण्ड, पासाङलगायत नेताहरुसँग छलफल गरिहेका छन् । तर, प्रचण्डले भने समाजवादी केन्द्रको अघि नेकपा राख्न भनेका छन् । यस्तै, प्रचण्ड भने नयाँ पार्टी खोल्नुभन्दा पनि जसरी भए पनि बाबुरामलाई माओवादी केन्द्रमै ल्याउन कसरत गरिरहेका छन् ।