काठमाडौँ — भारतको १५औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदै छ । १८ जुलाइमा भएको राष्ट्रपति निर्वाचनको आज विहान सवा ११ बजेबाट मतगणना सुरु हुँदै छ ।
मतगणनाका लागि सबै राज्यको विधानसभाबाट मतपेटिका संसद भवन पुगिसकेका छन् ।
राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाइमा सकिँदै छ । राष्ट्रपति पदका लागि सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएले झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूलाई उम्मेदवार बनाएको छ । यस्तै विपक्षी गठबन्धनबाट पूर्व केन्द्रीयमन्त्री यशवन्त सिन्हा उम्मेदवार छन् । भारतको राष्ट्रपति पदमा सामान्यतया सत्ताधारी दलकै जित हुने गरेको छ ।
राष्ट्रपतीय निर्वाचनमा संघीय संसदका दुवै सदनका सांसद, प्रदेशसभाका सदस्य तथा संघीय राजधानी दिल्ली र केन्द्र शासित प्रदेश पुद्दुचेरीका निर्वाचित सदस्यहरुले मतदान गरेका छन् ।
द्रोपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भए उनी देशको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति बन्नेछिन् । भारतमा आगामी ६ अगस्टमा उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।


प्रतिक्रिया