Breaking

निवर्तमान अर्थमन्त्री शर्मासँग छानबिन समितिले आज बयान लिने


काठमाडौँ – संसदीय विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ ।

समितिले आर्थिक वर्ष २०७९्/८० को बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा बिहीबार बिहान शर्मासँग सोधपुछ गर्न लागेको हो । शर्मासँग बिहान साढे ८ बजे बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो, जुन शुक्रबार सकिँदैछ ।

समिति गठन भएको ६ दिनपछि असार २८ गते मंगलबारबाट समितिले काम थालेको थियो । यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ ।