काठमाडौँ — वर्षाैदेखि आम नागरिकको मात्रै समस्या बन्दै आएको मूल्यवृद्धिले यसपटक भने राज्यका उच्च ओहोदामा आसीन व्यक्तिलाई पनि छोएकोे छ । दैनिक मूल्यवृद्धिले उनीहरुको जीवन पनि कष्टकर बन्दै गएको हो । पछिल्लो समय अधिक महंगी बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्न थालेको छ ।
पेट्रोलियम पदार्थदेखि भान्सामा दैनिक चाहिने दाल, चामल, नुन, तेललगायतका सबै खाद्यवस्तुको मूल्य बढ्दा नेपालीको भान्छा ज्यादै महंगीएको छ ।महंगी यतिसम्म बढेको छ कि वर्षौदेखि आममानिसले भोग्दै आइरहेको समस्या आजकाल नेता, सांसद, पूर्वमन्त्रीहरु पनि भोग्न बाध्य बनेका छन् ।
उनीहरुको घरमा समेत दुई थरि तराकारी पकाउन नसक्ने अवस्था सिर्जना भइसकेको छ । मूल्यवृद्धिका कारण तल्लो र मध्यम वर्गीय परिवारको भान्सा चलाउन समस्या हुने गुनासो सुन्दै आएको नेपालीले पूर्वमन्त्रीको गुनासो भने सायद, यो नै पहिलो पटक सुने होला ।
महंगीले नेताहरु कै दैनिकी कष्टकर बन्दै गएको परिस्थितिमा नागरिकको चुलोको अवस्था के होला सजिलै अनुमान गर्न सकिन्छ । चर्काे मूल्यवृद्धिका कारण जीवन धान्नै गाह्रो भएको सर्वसाधारणलाई एक छाक टार्ननै मुस्किल छ । १७ प्रतिशत भन्दा तल गरिवीको रेखामुनि रहेका र न्युनतम ज्याला पनि नपाएकाहरुको अवस्था झनै दयनीय छ ।
राज्यमा बसेकाहरु मुल्यवृद्धिबारे बेखबर भने छैनन् । मूल्यवृद्धिले जनताको ढाड सेकिदा पनि उनीहरु कानमा तेल हालेर बसेका छन् । स्वदेशी उत्पादनमा चासो राख्दैन् । आफ्नो गुट, दल र केही मान्छेको झोली भर्नका लागि राज्यको सम्पति दोहन गर्न पछि पर्दैनन् । जनतामा पर्न गएको सकसमा राज्य स्वयं मौन छ ।
मुलुकमा मौलाएको कुशासन, भ्रष्टाचार र महँगीको सवैभन्दा बढी मार उपभोक्तालाई परेको कुरा नकार्न सकिँदैन । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महंगी नियन्त्रणमा आउन सकेको छैन ।
यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ । बजारमा तरकारीमा लगायत खाद्यन्नमा भएको चर्को मूल्यवृद्धि आम उपभोक्ताका लागि टाउको दुखाई बनिरहेको छ । दिनदिनैको मूल्य वृद्धि र नेताहरुको अभिव्यक्तिले उपभोक्तामा थप निराशा बढाएको छ ।


प्रतिक्रिया